चितवन । पाँचदलीय सत्तारुढ गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । सो आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल हिजो नै भरतपुर आइपुग्नु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापालगायतका नेताहरू भने आज बिहान भरतपुर आइपुग्दै हुनुहुन्छ ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आमसभाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार हाकिमचोकस्थित केन्द्रीय बस टर्मिनलको प्राङ्गणमा आमसभा हुनेछ ।भरतपुर महानगरपालिकामा गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार छिन् भने उपप्रमुख पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।