
सल्यान । सल्यान प्रहरीले खुकुरी प्रहार गरी फरार भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।वैशाख २६ गते राती स्थानीय दुई जनालाई खुकुरी प्रहार गरी फरार भएका रोल्पा गंगादेव गाउँपालिका ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
२६ गते राती रोल्पा गंगादेव गाउँपालिका ५ डाडाँगाउमा वाइसियल र तरुणदलबीच झडप हुँदा सोही ठाउँका ३० वर्षीय मान बहादुर बुढा र २० वर्षीय कमल बुढालाई कुटपिट तथा खुकुरी प्रहार गरी केसी फरार भएका थिए ।
उनलाई सल्यान बागचौर नगरपालिका २ थारमारे स्थित रोशन ग्यारेजमा लुकेर बसेको अवस्थामा मङ्गलवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।
कुटपिट र खुकुरी प्रहारमा संलग्न अन्य केटाहरू पनि लुकेर बस्न सक्ने भएकाले खोजतलास भइरहेको उनको भनाई छ । पक्राउ परेका केसीलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।