मधेसखबर
वीरगन्ज,१ असार : मधेसका खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानहरुले बताएका छन् ।
असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष हिले ब्याड राख्ने गरेकोमा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पर्साको सखुवाप्रसौनी गाँउपालिका ३ का किसान धर्मनाथ यादवले बताए ।
“समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बीउ राखियो, सिँचाइ दिन सकिएको छैन, दिनभर चर्को घामबाट जोगाउन दिनमै तीनपटक पम्पीसेटबाट पानी पटाउनु परेको छ”, उनले भने । यादवका अनुसार खडेरीका कारण ब्याडको बीउ जोगाउन दिनहुँ तीन पटक पानी पटाउनु परेको छ ।
“ब्याडमा सिँचाइ गर्न दिनरात नभनिकन खेतमा धाउनुपरेको छ”, उनले भने , खेतमा बीउ सुक्न लागिसक्यो, आकाशे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नु परेको छ ।”
हिले ब्याड बनाएर बीउ राख्ने चलन रहेको भएपनि यसपाली लामोसमय देखि खडेरी परेकाले किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन् । असार लागिसक्दा पनि कतिपय ठाउँमा बीउ अझै राख्न पाइएको छैन । यस वर्ष मनसुन ढिला सुरु हुँदा धानको बीउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको छ ।
लामो समयदेखि पानी नपरेपछि नहरमा पानी सुकेको छ भने जंगल छेउका गाँउका कुलोपनि पानीको बहाव घटेको छ
महँगो मूल्यमा बजारका एग्रोभेटबाट बीउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाइकन बीउ बिग्रने चिन्तामा छन् । वर्षदिन खाने खेती समयमा नै बीउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन् ।
खेती लगाउने समयमा हरेक वर्ष किसानलाई केही न केही समस्या निम्तिएको हुन्छ । कहिले रासायनिक मलको अभाव त कहिले धानको बीउ अभाव, समयमा वर्षा नपर्नुजस्ता समस्याले किसानलाई सताइरहेको हुन्छ । दिगो र भरपर्दो सिँचाइको व्यवस्थापन हुन नसक्दा बीउ राख्न तथा बालीनाली लगाउन समस्या भइरहेको छ ।
The post पानी नपर्दा ब्याडमै सुक्न थाल्यो धानको बीउ appeared first on Madhes Khabar.