मधेसखबर
वीरगन्ज,२ बैशाख : नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिक र उद्योगी व्यवसायीहरुले भोगीरहेका समस्याका सम्बन्धमा सरोकारवालाहरु बिच शनिबार छलफल भएको छ ।वीरगन्जमा जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको सीमा सुरक्षा बैठकमा सीमावर्ती क्षेत्रमा भएका नीतिगत एंव संरचनागत समस्याका सम्बन्धमा छलफल भएको हो ।
छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले भारतबाट रेल्वेमार्ग हुदै आयत हुने सामग्री बाटोमै चोरी हुने गरेकोप्रति सम्बन्धीत भारतीय निकायको ध्यानाकर्षण गराए । उनले भने, ‘विगतको तुलनामा सुरक्षा बढेको भएपनि उद्योगी व्यवसायीले सुरक्षित महसुस गर्न सकेका छैनौँ । रेल्वेबाट सामान ल्याउँदा बाटोमै चोरी हुनु अत्यन्तै दुखद विषय हो, यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले नेपाली नम्बर प्लेटका सवारीसाधन भारत प्रवेशमा हुने कठीनाईलाई सहज बनाउनुपर्ने सुझाव दिए । साथै उनले वीरगन्ज महानगरपालिकाले रात्री बजारका अवसरमा ३ दिनसम्म २४ सै घण्टा खुला गरेको नाकालाई निरन्तरता दिन सके दुवै देशको आर्थिक विकासमा सघाउ पुग्ने बताए ।
उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढ्दै जाँदा पनि आवतजावतमा असहजता भएको बताए । टेमानीले भने,‘ १७ सय ५२ किलोमीटर सीमा सँधै खुला हुन्छ, त्यो क्षेत्रमा सुरक्षाकर्मी पनि हुँदैनन् । अनि जहाँ धेरै सुरक्षाकर्मी तैनाथ हुन्छन्, त्यही क्षेत्रमा नाका बन्द गरिएको हुन्छ । यसको कुनै अर्थ छैन’
टेमानीले थपे, ‘यदि सुरक्षाकर्मी राखेर नाका बन्द नै गर्ने हो भने स्थलगत मार्ग सँधैका लागि बन्द गरेर अन्य देश जस्तै हवाईमार्गमार्फत पासपोर्ट लिएर जाने व्यवस्था गरिदिनुपरयो ।’भारतबाट वीरगन्ज आउनेहरु दिल्ली जानका लागि काठमाण्डौ जानुपर्ने बाध्यता रहेको बताउँदै टेमानीले भने, ‘सीमावर्ती शहर रक्सौलमै रहेको विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके धेरै राहत हुने थियो ।’
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले सीमावर्ती शहर रक्सौलमा प्रवेश गर्ने बित्तिकै अवैध रुपमा सञ्चालित सटही काउन्टरहरुबाट दुवै देशका सर्वसाधारण ठगिदै आएकाले यसतर्फ भारतीय सुरक्षा निाकयको ध्यान जानुपर्ने बताए । लाठले भने, ‘करिब ५० लाखभन्दा बढी नेपाली भारतमा श्रमिकको रुपमा कार्यरत छन्, विभिन्न चाडवाड तथा विदामा नेपाल आउँदा उनीहरु ठगीन बाध्य छन्, त्यसैले यसलाई नियमन गर्न आवश्यक छ ।’
छलफलमा भारत पूर्वी चम्पारण मोतिहारीका जिल्ला अधिकारी (डिएम) सौरभ जोरवालले सीमा क्षेत्रका समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने बताउँदै भारतीय सीमा क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले सुरक्षाकर्मीको काम नागरिकलाई सुरक्षा दिने भएको हुँदा दुःख दिने काम नगर्न निर्देशन पनि दिए । नेपाली नम्बर प्लेटका सवारी साधनको आवागमनलाई सहज बनाउने विषयमा पनि छलफल गरेर आवश्यक निस्कर्ष निकाल्ने उनले आश्वासन दिए ।
कार्यक्रममा नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटी, बाराका सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका साथै उद्योगी व्यवसायीहरुको सहभागीता थियो ।
भारतका तर्फबाट बिहारको भारत पूर्वी चम्पारण मोतिहारीका जिल्ला अधिकारी (डिएम) सौरभ जोरवाल, पश्चिम चम्पारण बगाहा पुलिस जिल्लाका जिल्ला अधिकारी दिनेश कुमार राइका साथै भारतीय प्रहरीका प्रमुख , उद्योगी व्यवसायीको सहभागीता थियो ।
The post भारतीय सीमानाकामा आउजाउ सहज बनाउन वीरगन्जका उद्योगी व्यवसायीको माग appeared first on Madhes Khabar.