
काठमाडौं ,२४माघ: भारतले धान निकासीमा कोटा लगाएसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपाली धानको मूल्य पनि गतवर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सयसम्मले बढ्दा किसानले सामान्य राहत पाएका छन् । तर त्यसले चामलका उपभोक्ता भने मारमा परेका छन् । धानमा प्रतिक्विन्टल तीन सयसम्म मूल्यवृद्धि हुँदा चामलमा प्रतिकिलो १० रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको पाइएको छ ।
धानको मूल्य बढेसँगै एक महिना अगाडि प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको ५८ रुपैयाँ पुगेको छ । त्यसैगरी ५५ रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ रुपैयाँ र ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८८ रुपैयाँ पुगेको छ । भारतमा नै धान र चामलको मूल्य बढेको छ ।
भारतले नेपालको लागि चालु वर्षमा ६ लाख टन धान निकासी गर्ने कोटा निर्धारण गरेको छ । भारतले कोटा निर्धारण गरेसँगै भारतमै धानको मूल्य बढ्यो । उद्योग वाणिज्य संघ प्रदेश १ का कृषि संयोजक श्रवण अग्रवालले भने भारतमा धानको मूल्य बढेसँगै नेपालमा पनि धानको मूल्य बढ्दा चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् ।
गतवर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय थियो । अहिले ३ हजार एक सय रुपैयाँ पुगेको छ । त्यही धानको मूल्य भारतमा ३ हजार २ सय ५० रुपैयाँ छ । रञ्जित धानको मूल्य गतवर्ष २ हजार ९ सय ५० हुँदा यसपालि ३ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । गत वर्ष कान्छी मन्सुलीको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय हुँदा यसपालि २ हजार ९ सय पुगेको छ । अग्रवालले भने कान्छी मन्सुलीको धानको मूल्य भारतमा अहिले ३ हजार २ सय छ ।
विगतमा भारतमा धानको मूल्य कम हुँदा यता पनि कम हुन्थ्यो । यसपालि भारतमै धानको मूल्य बढेसँगै यहाँ पनि बढ्दा चामलको मूल्य पनि ह्वात्तै बढ्यो र सर्वसाधारण उपभोक्ता मारमा परेको अग्रवालको भनाइ छ । उनले भने, ‘नेपालको खाद्यको मूल्य भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको छ ।’
धानको मुख्य सिजन कात्तिकदेखि पुससम्ममा जोगवनी नाकाबाट ३२ करोड ५० लाख मूल्य बराबरको ९ हजार २ सय ८२ टन धान भारतवाट आयात भएको विराटनगर भन्सारको तथ्याङ्क छ । गत वर्ष यो नाकाबाट ३२ अर्ब मूल्य बराबरको धान र चामल आयात भएको तथ्याङ्क छ ।साभार:कान्तिपुर
The post धानको मूल्य बढ्दा किसानलाई राहत appeared first on Madhes Khabar.