माधुरी महतो
वीरगन्ज,१९ मंसिर : वीरगन्ज–३१ का किसान नजिम मियाँले प्राविधिककै सरसल्लाहमा धान खेती गर्दै आइरहेकाले हरेक वर्ष उनले धानको उत्पादनमा बृद्धि हुदै गएको छ । ‘मेरो २ बिगाहा धान खेतमा कृषि प्राविधिकले दिने बिउ नै रोप्दै आएको छु । यसले समयसगै सुहाउदो अनुकल बिउ र उत्पादन दिने गर्छ,’ उनले भने ।
तराईं मधेसमा मानिसहरुको रोजाईंमा पर्ने धानको राम्रो उत्पादनका लागि खेतमा पर्याप्त मात्रामा पानी जम्मा गरेर राख्नुपर्छ । सिचाईंको व्यवस्था नभएको स्थानमा पानीलाई समेत खेतमा राखेर सञ्चित गरेर राख्नुपर्ने हुन्छ । कतिले मोटर मार्फत पानीको व्यवस्था गर्छन् । बिउ जोगाउनका लागि कतिपयले किरा मार्ने औषधिको पनि प्रयोग गर्छन् । कतिले आधुनिक मेसिनको प्रयोग गर्छन् ।यसले स्रोत साधनको प्रयोग र खपत बढाउनेसँगै फसल उत्पादनमा बढोत्तरी गर्छ सँगै हरित गृह ग्यास उत्पादन पनि बढाउछ ।
विगत १० वर्षदेखि रैथाने बिउ प्रयोग गर्दै आएका मियाँ परम्परागत कृषि प्रणालीमा विश्वास गर्छन् । उनको अनुभवमा बाली सप्रनका लागि ठिक समयमा सिचाईंको उचित व्यवस्थापन हुनुपर्छ ।
मधेस प्रदेश खेतीपातीका लागि उर्वर भूमि हो । धान, तरकारी, फलफूल, उखु उत्पादनमा मधेश अग्रणी स्थानमा छ ।नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार आव २०७८/७९ मा मधेस प्रदेशमा खाद्य तथा अन्य बाली २९ लाख ५९ हजार ६५० मेट्रिक टन उत्पादन भएको थियो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा मुलुकभर ५१ लाख ३० हजार ६ सय २५ टन धान उत्पादन हुदा मधेश प्रदेशमा मात्रै १३ लाख ८६ हजार ३ सय २८ टन उत्पादन भएको थियो ।
मधेस प्रदेशका आठवटै जिल्लामा गरी कूल ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा रहेको छ । मधेस प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४ दशमलव ३१ प्रतिशत रहेको छ । यो सात प्रदेशमध्ये सबभन्दा उच्च हो ।
र मधेस प्रदेश अन्तर्गत पनि सबै भन्दा धेरै धान उत्पदान हुने तथा खेती हुने जिल्लामा पर्सा जिल्ला पर्ने गरेको कृषि मन्त्रालयको तथ्यांकमा छ ।कृषि ज्ञान केन्द्र पर्साका अनुसार विगत केही वर्षहरुमा जिल्लामा धान उत्पादन पनि बढेको छ ।
पर्सा जिल्लामा पछिल्लो २० वर्षमा धान खेती गर्ने जग्गा ४६ हजार ६ सय ५५ हेक्टर क्षेत्रफलबाट बढेर ४७ हजार १ सय ३० हेक्टर पुगेको छ । यो बीचमा वार्षिक धानको उत्पादन पनि २ लाख २३ हजार ८७२ मेट्रिक टनबाट बढेर २ लाख ३३ हजार १३५ मेट्रिक टन पुगेको पाउन सकिन्छ । यद्यपि उत्पादनमा खासै परिवर्तन भएको पाइदैन ।
पर्सामा धान उत्पादनको २० वर्षको तथ्यांक
आ.व हेक्टर उत्पदान (मेटन)
२०६०।६१ ४६,६५५ २२३८७२.५
२०६१।६२ ३५,१५० १८६५६१
२०६२ ।६३ ४६,७०० २०२,९४९
२०६३।६४ ४६७०० १८३९००
२०६४।६५ ४६,७०० १५७७६
२०६५।६६ ४६७०० २०९५५०
२०६६।६७ ४६६९० १५९२२०८
२०६७।६८ ४६७०० १६४३९०
२०६८।६९ ४६७१० १९३२००
२०६९।७० ४६७१० १७५६४०
२०७०।७१ ४६७१० १५८८१४
२०७१।७२ ४५७६० १६९३१२
२०७२।७३ ४३८७१ १३२५६०.९
२०७३।७४ ४६७५० २१२७७५
२०७४।७५ ४७३६० २०८२४०
२०७५।७६ ४५०६० २२७२५०
२०७६।७७ ४७०५० २२५८४०
२०७७।७८ ४७०५० २२८५६०
२०७८।७९ ४७१३० २३३१३५
पर्सालाई धान उत्पादनमा पकेट क्षेत्रमा मानिन्छ । यहाँ धान उत्पादनमा वर्षेनी वृद्धि त भएको पाइन्छ सँगै सिचाइंका लागि पनि धेरै नै पानीको प्रयोग हुने गरेको छ । पर्याप्त सिचाईंको व्यवस्था हुँदा यहाँ वर्षेनी तीन पटकसम्म धान उत्पादन हुन्छ । जिल्लामा चैते, भदै र अगहनी गरेर तीन पटकसम्म रोपाई हुने गर्छ ।
विगतका वर्षहरु कृषि योग्य जमिनमा ८५ प्रतिशत मात्रै धान रोपाईँ हुदै आएको यो वर्ष ९५ प्रतिशत धान खेतमा रोपाईँ भएको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरेश कुश्वाहाले बताए । जिल्लाको ५४ हजार ७३२ हेक्टर कृषियोग्य जमिनमध्ये ५० हजार ०४६ हेक्टरमा खेती हुदै आएको छ । तीमध्ये ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाईं हुदै आएको उनले बताए । जिल्लाको कूल क्षेत्रफल १ लाख ३५ हजार ३ सय छ । जिल्ला सिचाई कार्यालय पर्साका अनुसार २९ हजार ८ सय ३१.५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाई हँुदै आएको छ ।
खेती प्रणाली विस्तारै परिवर्तन हुँदै आइरहेको छ । धान, मकै, कोदो, जौं, उखु, सुर्तीलगायत आप,केरा,अदुवा,बेसारका खेती हुन्थ्यो । अहिले त्यो हट्दै गएको छ । ‘अहिले धान,गहुँ,आलु र केही तरकारीहरु मात्रै उत्पादन हुन्छ,’ कुश्वाहा भन्छन् ।
जिल्लाका ८० प्रतिशतभन्दा बढी कृषक मौसमी धान रोपाईंमा निर्भर छन् । अनियमित वर्षाको बढोत्तरी, आरिघोप्टे वर्षा, प्राकृतिक प्रकोपलगायत, मनुसनी गतिविधिमा आइरहने फेरबदलले कृषि उत्पादनमा ह्रास ल्याइरहेको पनि छ । नियमित समयमा धान काट्ने र रोपाई्र नै हुन छाडेको कृषकहरु बताउँछन् । यसले खेती प्रणालीलाई मात्रै हैन,हरित गृह ग्यास उत्सर्जनमा समेत प्रत्यक्ष प्रभाव परेको छ , तर कसरी ?
सन् २००८मा नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गरेको एउटा अनुसन्धानमा कार्बनडाइ अक्साडको मात्रासगै तापक्रम बढ्दा धानको फसल १७.०७ प्रतिशतले बढेको देखायो । एउटा बन्द अवस्थामा ६.२ डिग्रीको तापक्रम बढाउदा धानको उत्पादन वृद्धिदर त देखायो तर १.६ डिग्रीले तापक्रम बढेको पाइयो । धानमा नाइट्रोजनको मात्रा १६.३ प्रतिशतले बढेको पाइयो ।
नार्ककै अर्को एक अनुसन्धानात्मक रिर्पोटमा नेपालमा हरेक सिजनमा धान खेतबाट मात्रै मिथेन उत्सर्जन २८ केजी प्रति हेक्टर हुने गरेको देखायो । यस्तै, अधिकतम उत्सर्जन ४९ केजी थियो । यी खेतमा नाइट्रोजन ५० प्रतिशत मात्रै हालिएको थियो । नियन्त्रित खेतमा गरिएको अनुसन्धानमा भने मिथेन उत्सर्जन ७.७ प्रतिशत देखाएका थियो ।
मिथेन हरित गृह प्रभाव बढाउने ग्यास हो । पृथ्वीको तापक्रम बढाउनका लागि हरित गृह ग्यासले भूमिका खेल्छन् जसका कारणले पृथ्वीको प्राकृतिक हरित गृह प्रभावले बढाइदिन्छ । यस्तो हु“दा पृथ्वीमा हुने विभिन्न चक्रीय प्रणालीलाई असर गर्दा हरेक क्षेत्रलाई प्रभाव पार्छ ।
नेपालका कृषि वैज्ञानिकहरुका अनुसार उक्त उत्सर्जन भारत र थाइलेन्डको तुलानामा भने कम थियो । धानखेतबाट थाइलेन्डमा ४९ र भारतमा ४५ केजी प्रति हेक्टर मिथेन उत्सर्जन हुने गरेको पाइएको थियो । जबकी कोरियामा ३६७ केजी प्रति हेक्टर थियो । उनीहरुको निष्कर्ष थियो, पर्याप्त मात्रामा सिचाईं पुगेको ठाउ“मा अधिकतम् कृषि मल प्रयोग गरेको ठाउमा उत्सर्जन धेरै नै हुने गरेको पाइएको थियो ।
अहिले नेपालमा पनि यो बढ्दो अवस्थामा छ । कारण खेती प्रणालीमा चाहिनेभन्दा बढी पानी जम्मा गरेर राख्ने प्रचलन छ । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले पठाएको विवरण अनुसार कूल हरित गृह ग्यास उत्सर्जनको आधामा हिस्सा कृषि क्षेत्रबाट हुने गरेको देखाएको छ । कृषि क्षेत्रमा पनि सबैभन्दा बढी मल बनिने,कुहिने र फेरमेन्टेसन प्रक्रिया धेरै हुदा उत्सर्जन धेरै रहेको पाइएको थियो । यस्तै, २४ प्रतिशत उत्सर्जन चाही धानखेतबाट हुने गरेको पाईएको छ ।
कृषि क्षेत्रबाट हुने उत्सर्जनलाई विज्ञहरुले अनियमित वर्षा, जलवायु परिवर्तनको असर,सिचाईंको अभावलगायत अन्य विविध कारणहरु देखाउने गरेका छन् । खेतहरुमा रासायनिक मलको अत्यधिक प्रयोग , अनावश्यक रुपमा खेतमा पानी जमाउने कार्यले हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि हुँदा उत्पादनमा पनि नकारात्मक असर पर्न थालेको कृषि विज्ञ डा.पशुपती चौधरी बताउँछन् ।
बालीनालीमा किराको प्रकोपमा वृद्धि हुनुका साथै, पराम्परागत (रैथाने) बिउ एवं बाली लोप हुनु जस्ता समस्याहरु तापक्रम वृद्धिकै कारण देखिने गरेको चौधरीले बताए । जलवायु परिवर्तनकै कारण बाली मौसम अनुसारको नहुने, विगतमा धेरै उत्पादन हुने बाली अहिले थोरै हुने, पहाडमा उत्पादन हुने बाली तराईमा हुने, तराईमा उत्पादन हुने बाली पहाडमा हुने जस्ता अनियमित संकेतहरु देखा पर्न थालेका छन् । उनका अनुसार धान उत्पादनमा पर्याप्त मात्रामा नतिजा नआउनुको कारण पनि जलवायु परिवर्तनको असर हुन सक्ने औंल्याउँछन ।
वन तथा वातावरण मन्त्रालयले ल्याएको जलवायु परिवर्तन सम्बन्धि लैंगिक तथा सामाजिक समावेशिकरण रणनीति तथा कार्ययोजना (२०७७–८७) र राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ मा कृषि तथा खाद्य सुरक्षा सम्बन्धीका कार्यनीति बनाएपनि कृषि तथा पशुपंछी मन्त्रालयले नीतिगत दस्तावेजहरुमा सो विषयमा प्रष्ट धारणा बनाएर दिन सकिरहेको छैन ।
राष्ट्रिय जोखिम र जोखिम मूल्यांकन प्रतिवेदन २०२१मा जलवायु परिवर्तनले सन् २०३० सम्म जलवायु परिवर्तनले कुल ग्राहस्थ उत्पादनमा २ देखि ४ प्रतिशतसम्म ह्रास आउने देखाएको छ । अनुकुलनका लागि २.४ बिलियन अमेरिकी डलर खर्च गर्नुपर्ने अवस्था सृजना हुने उल्लेख छ ।
नार्कका पूर्व वरिष्ठ कृषिविद माधव जोशी पनि वायुमण्डलीय कार्बनडाइअक्साईड एकाग्रतामा भएको वृद्धिले बालीहरूको वृद्धि र उत्पादकत्वलाई बढावा दिएपनि भूमि प्रयोग परिवर्तन, सिंचाईंको लागि पानीको उपलब्धता, माटोको जैविक रूपान्तरणको आवृत्ति र तीव्रता, माटोको क्षय र कृषियोग्य क्षेत्रको ह्रासले उत्पादनलाई खतरामा पार्ने सम्भावना यथावत हुने बताउँछन् ।
सामान्यतया धानको हिलो माटोमा जम्मा भएका मिथेनले धानको बोट मार्फत वायुमण्डलमा निस्किने गर्छ । जति धेरै पानी र हिलो जम्मा हुन्छ,उति नै धेरै कुहिने दर बढ्छ र मिथेन उत्सर्जन हुन्छ । कम सिचाईमा पनि धान उत्पदान हुने प्रजातीका धानका बिउ उपलब्ध भए यो उत्सर्जन कम हुन्छ । यस्ता बिउहरु पाइएपनि पर्साका कृषकहरुको रोजाईंमा बढी सिचाई तथा पानीको प्रयोग गरी लगाउने धान बाली नै हुने गरेको कृषि प्राविधिक सुरेश कुश्वाहाले बताए । धेरै सिचाइं हुने धानको बिउ प्रयोग गर्दा उत्सर्जन पनि बढ्ने उनले बताए ।
सिचाईंको असुविधा र अनियमित वर्षा र बिउमा भएको ढिलाइका कारण रोपाइं ढिलो हुने गरेको छ । धान रोप्ने धेरै खेतहरुमा पानी जम्ने गरेको कृषि प्राविधिक कुश्वाहाको भनाइ छ । फसल काट्ने बेलामा पानीे जम्दा एक त, मिथेन उत्सर्जनमा बढोत्तरी त भएकै छ , अर्कोतर्पm बाली बिग्रिने सम्भावना पनि उत्तिकै हुने उनले जनाए ।
कम पानी खपत हुने धानको बिउ प्रयोग गर्दा हरित गृह ग्यास उत्सर्जनमा पनि केही हदसम्म कम हुने उनले बताए । यस्ता बिउहरुले जलवायु परिवर्तन नियन्त्रणमा समेत सकारात्मक भुमिका खेल्ने राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक एवं सुख्खा धान बिउ उत्पदान विज्ञ डा. रामवरण यादवको सुझाव छ । समयमा पनी नपर्ने सुख्खा बढी हुने जस्तो अवस्थामा वैकल्पिक उपाय अपनाउनुपर्ने उनको भनाइ छ ।
उनी भन्छन् ‘एक किलो धान उत्पदान गर्नका लागि २५ सय लिटर पानीको आवश्यता पर्छ । पानी अभाव घरदेखि कृषिसम्म छ । वैकल्पिक खेतीबारे अब सोच्ने बेला आएको छ । ’
नेपाल कृषि अनुसन्धान परिषद्ले पनि ‘अल्टरनेटिभ ड्राइगं सिस्टम’ प्रविधिको विकास गरेको छ । जसले कम सिचाइं हुने खेतमा उत्पादन राम्रो दिने र बिजुली खपत पनि कम गराउन मद्दत पुग्ने विज्ञ यादवको भनाइ छ ।
यो प्रविधिको प्रयोगले पानीको आवश्यकता पूर्ति गर्नका लागि खेतमा पानी जमाइराख्नु पर्दैन । कम पानी प्रयोग गरेर उत्पदान गर्न सक्ने सुख्खा धानको ९ वटा बिउको प्रजातीको नार्कले विकास गरेको छ । जसबाट ३० प्रतिशत सिचाई बचत गर्ने, उत्पादन बढाउनुका साथै हरित गृह ग्यास उत्सर्जनमा समेत कम गराउछ ।
मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन एवं जलवायु विज्ञ डा.सुदीप ठकुरीका अनुसार जलवायु परिवर्तनका कारण धान उत्पदानमा पनि देखिएको असरलाई न्यूनिकरण गर्न अनुकुलन तर्फ पनि ध्यान दिन आवश्यक पर्ने बताउँछन् । त्यसका लागि आवश्यक अध्ययन अनुसन्धान, धान लगायतका बालीलाई कसरी वातावरणमैत्री बनाउ सकिन्छ भन्नेमा सरोकारवाला सबैलाई ध्यानाकर्षण गराउन सकिन्छ ।
वर्तमान खाद्य सुरक्षा र जलवायु परिवर्तनका चुनौतीहरूको सफलतापूर्वक सामना गर्न कृषि क्षेत्र जलवायु–स्मार्ट हुनुपर्ने तथा मिथेन ग्यासको बारेमा धान उत्पादकहरूमा सचेतना गराउन सक्नुपर्ने उनले बताए ।
‘राष्ट्रिय रणनीतिहरूको कार्यान्वयनका साथै प्रविधिको विकास र स्थानान्तरण र परिणाम–आधारित प्रदर्शन गतिविधिहरू र पूर्ण रूपमा मापन, रिपोर्ट र प्रमाणित गरिनु पर्ने परिणाम–आधारित कार्यहरूमा विकसित गराउँदै एग्रोनोमिक अभ्यासहरू, बाली विविधीकरण गर्न सकिन्छ,’ ठकुरीले भने,‘ माटोको स्वास्थ्य, माटोको रसायन र हरितगृह ग्याँस उत्सर्जनको बारेमा किसानहरूमा चेतना बढाउन सरकारको भूमिका महत्वपुर्ण हुनुपर्छ । ,’
The post पर्सामा २० वर्ष यता धानको उत्पादन बढ्दा हरित ग्याँस उत्सर्जनले समस्या थपिदैै appeared first on Madhes Khabar.