मधेसखबर
वीरगन्ज,०२ कात्तिक : लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले पर्सा क्षेत्र नम्बर ४ मा पर्ने पोखरीया नगरपालिकाको विभिन्न गाँउमा बुधबार चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।
पर्सा ४ का काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले दलका नेता कार्यकर्तासंगै पोखरीया नगरपालिकाको बसन्तपुर र फुलवरीयामा घरदैलो कार्यक्रम गरेका हुन् ।
घरदैलो कार्यक्रममा मतदाताहरुसंग भेट्दै दुवै उम्मेदवारले जनताको सुखदुखमा साथ दिदै आएकाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन आग्रह गरेका थिए । प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले मधेस र देशको समृद्धिका लागि फेरि पनि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएकाले निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई नै मत दिएर विजयी बनाउन अनुरोध गरे ।
संविधान र लोकतन्त्र मास्न खोज्ने दल एमाले र उससंग घाँटी जोडेको जसपा दुवै अहिले सत्ता स्वार्थका लागि एक भएकाले उनिहरुलाई परास्त नगरिए फेरि संविधान र लोकतन्त्र समाप्त पार्ने खतरा रहेको पनि उनले बताए । रिजालले भने ,‘ जसले मधेसको मसिहा भनेर मधेसीको बलिदानी दिन लगायो त्यहि दल अहिले मधेस विरोधी एमालेसंग घाँटी जोड्न पुगेको छ , यदि उनिहरुलाई चुनावमा जनताले परास्त गरेनन् भने फेरि पनि लोकतन्त्र र संविधान दुवै खतरामा पर्न सक्छ , जनताले यो कुरा बु्झन जरुरी छ ।
काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले मधेस र मधेसीको अधिकार र मुद्धाको पक्षमा काँग्रेस सदैव साथ दिने पार्टी काँग्रेस नै रहेको कुरा इतिहासले पुष्टि गरिसकेको पनि बताए ।
घरदैलो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागीता रहेको थियो ।
The post रमेश रिजाल भन्छन् : मधेसका मसिहा भन्ने जसपा मधेस विरोधी एमालेसंगै मिलेको छ ,जनताले विचार गर्छन् appeared first on Madhes Khabar.