मधेसखबर
वीरगन्ज,०८भदौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली आमाबुबाबाट जन्मिएका छोराछोरीले नागरिकता पाउने विधेयक पास गर्दा राष्ट्रघात भन्नु पाखण्ड भएको बताएका छन् ।
बुधबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अहिलेको नागरिकता विधेयक नेपाली नागरिकका छोराछोरीले नागरिकता नपाएर छटपटिइरहेको वेला त्यो अधिकार दिलाउने विधेयक मात्र भएको उल्लेख गरे ।
उनले अहिले पनि नेपाली नागरिकका ६–७ लाख छोराछोरी नागरिकता नभएकै कारण राज्यले दिने विभिन्न अवसरबाट वञ्चित भइरहेको अवस्थामा उनीहरूलाई अधिकार दिने कुरा कसरी राष्ट्रघात हुन्छ भनेर प्रश्न गरे ।
आमाबुबा दुवै नेपालका नागरिक भएको छोराछोरीले नारिकता पाउने विधेयक नै अहिलेको सारतत्व भएको उनकाे भनाइ छ ।
उनले यो विधेयक केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत लगिएको, तर अहिले संसदमा ल्याउँदा राष्ट्रघात भन्नु बेइमानीबाहेक केही नभएको बताए । ‘अध्यादेशका रूपमा ओलीले लगेको विधेयक संसदले पास गर्दा कसरी राष्ट्रघात भयो ?’ उनले प्रश्न गरे ।
निर्वाचनको मिति घोषणापछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवन ३ मा भएका विकास योजनाको अवलोकनसँगै शिलान्यास पनि गरेका छन् क। उनले चितवनको माडीमा निर्माण सम्पन्न पुल , तटबन्ध र सडकको शिलान्यास गरेका हुन् । प्रचण्डसंगै वन तथा वातावरण मन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई पनि चितवनको माडी गएका थिए ।
The post नागरिकता विधेयक पास गर्दा राष्ट्रघात भन्नु पाखण्ड हो : प्रचण्ड appeared first on Madhes Khabar.