मधेसखबर
वीरगन्ज,२८ साउन : वीरगन्ज ठोरी हुलाकी राजमार्गमा विगत ७ बर्ष देखि निर्माणाधीन तिलावे नदिको पुल शनिबार उद्घाटन गरिएको छ।
संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले शनिबार तिलावे नदिमा नवनिर्मित पुलको उद्घाटन गरेका हुन् ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य करिमा बेगम , जन्नत अन्सारी,वीरगन्ज माहनगरपालिकाका मेयर राजेशमान सिंह , जसपाला जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको पनि उपस्थिति रहेको थियो ।
पर्सा जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगन्जसंग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदिमा ७ करोड ७१ लाख रुपैयाँको लागतमा १ सय मिटर लम्बाइ र ७ मिटर चौडाइको पुल ठेक्का सम्झौता भएको ७ वर्ष पछि निर्माण भइ शनिबार उद्घाटन गरिएको हो।
माथिको पुल ठेक्का लागेको ७ वर्ष पछि अहिले आएर बल्ल निर्माण सम्पन्न भएको हो ।
२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी तिलावे खोला पुलको निर्माण कार्यको ठेक्का सकारेको थियो ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार , सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो ।तर ठेक्का लागेको ७ वर्ष बिति सक्दा पनि विभिन्न कारण देखाउदै ठेकेदार कम्पनिले पटक पटक म्याद थप गराउदै आएको थियो ।
यसअघि अलपत्र परेको पुलको निर्माण कार्य , स्थानीय युवाहरुले पुल निर्माणस्थलमै १ महिना सम्म प्रदर्शन सहितको दबाब दिए पछि गत मंसिरबाट निर्माण कार्य सुचारु भएको थियो ।त्यस बेला ( गत मंसिर २९ गते ) जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदार सहितको सर्वपक्षिय बैठकले ७ महिना देखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंसिर १ गते देखि सुचारु गर्ने सहमति गरेको थियो ।
निर्माणको ठेक्का सम्झौता २०७३ सालमा भएपनि प्रक्रियागत, प्राविधक र आर्थिक समस्याका कारण पुल निर्माणमा तोकिएभन्दा बढी समय लाग्न पुगेको पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनीयारले बताए । उनले ठेक्का लागेको १८ महिना पछि मात्रै पुलको नक्सा दिएकोले पनि निमर्माणमा समय लागेको बताए ।
शनिबार पुलको उद्घाटन गरिएको भएपनि पुलको एप्रोच सडक र नदीको तटबन्धको काम भने गरिएको छैन। अहिले पुलको ९० प्रतिशत काम सकिएको र बर्खा सकिए लगत्तै ती दुवै काम शुरु गरिने ठेकेदार रौनियारले बताए ।
अहिले बर्खामा एप्रोच सडक बनाउँदा भर्खरै हालिएको माटो भासिने र नदीमा पानी बढी भएकाले तटबन्धन गर्न नमिलेको उनले बताए।
तिलावे नदिको पुरानो फलामे पुुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहा हरेक दिन बिहान र साँझ घण्टौ सम्म ट्राफिक जाम लाग्ने गरेको थियो।
अब भने पुल सञ्चालनमा आएसँगै पर्साको ग्रामीण क्षेत्र देखि सदरमुकाम वीरगन्ज सम्मको आवागमन सहज हुने भएको छ ।
The post तिलावे पुलको उद्घाटन , अब आवागमन सहज हुने appeared first on Madhes Khabar.