मधेसखबर
वीरगन्ज,१२ असार : वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्ष २०७८/७९ को ११ महीनामा ४३ देशसँग आयात–निर्यातको कारोबार भएको छ । ती वैदेशिक व्यापार साझेदार मध्ये ३९ देशसँग नेपालको व्यापार सन्तुलन नकारात्मक छ ।
सबैभन्दा ठूलो साझेदार भारतसँग ४ खर्ब १ अर्ब रुपैयाँबराबर व्यापारघाटा भएको वीरगन्ज भन्सारको तथ्यांक छ ।
प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार भारतबाट ४ खर्ब ७४ अर्ब रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट ७२ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । ‘यो नाकाबाट बितेको ११ महीनामा सबैभन्दा बढी निकासी भारतमा भएको छ । वीरगन्जबाट भएको कुल निर्यातमा भारतको अंश ९५ प्रतिशत छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने ।
चालू आवको जेठसम्ममा वीरगन्ज नाकाबाट ७६ अर्ब रुपैयाँबरारको वस्तु विददेश निकासी भएको वीरगन्ज भन्सारले बताएको छ । व्यापार परिमाणका आधारमा दोस्रो ठूलो साझेदार चीन हो । चीनबाट ४० अर्ब रुपैयाँको मालसामान ल्याएको र २ करोड १४ लाखको उता पठाएको तथ्यांक छ ।
इन्डोनेशिया, ब्राजिल, अस्ट्रेलिया, दक्षिण अफ्रिका लगायत देश त्यसपछिको सूचीमा क्रमैसँग छन् । प्रायः खाद्यान्न र औद्योगिक कच्चा पादर्थ आउने यी सबै देशसँग नेपालको व्यापार सन्तुलन नोक्सानीमा देखिन्छ ।
वीरगन्ज नाकाबाट भएको आयात–निर्यात कारोबारमा आयरल्यान्ड, नर्वे, जमैका र नाइजरसँग मात्रै व्यापार सन्तुलन सकारात्मक देखिएको भन्सारले बताएको छ ।
सवा ७ खर्बको आयात–निर्यात
वीरगन्ज नाकाबाट चालू आवको ११ महीनामा झन्डै सवा ७ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापार परिमाणका आधारमा देशकै ठूलो नाका वीरगञ्जबाट ७ खर्ब १८ अर्ब रुपैयाँको व्यापार भएको हो ।
वीरगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार आयात करीब साढे ६ खर्ब रुपैयाँको भएको छ । यो अवधिमा ६ खर्ब ४१ अर्ब रुपैयाँबराबरको वस्तु आयात हुँदा निर्यात ७६ अर्ब रुपैयाँ छ । वीरगन्ज नाकाबाट मात्रै ५ खर्ब ६५ अर्ब रुपैयाँको व्यापारघाटा देखिएको वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत पौडेलले बताए । गत साउनदेखि जेठसम्मको अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा कुल व्यापार ४३ प्रतिशतले बढेको छ ।
अघिल्लो आवको ११ महीनामा ५ खर्ब रुपैयाँबराबरको व्यापार भएको वीरगन्ज भन्सारको तथ्यांकले देखाएको छ । आयात ४१ र निर्यात ७३ प्रतिशतले बढको पौडेलले बताए । अघिल्लो वर्षमा आयात ४ खर्ब ५६ अर्ब र निर्यात ४४ अर्ब रुपैयाँबराबर थियो । वीरगन्ज भन्सारबाट यो अवधिमा मुख्य रूपमा इन्धन, औद्योगिक कच्चा पदार्थ र सवारीसाधनको आयात बढी भएको छ । वीरगन्नज नाकाबाट तयारी कपडा पनि उल्लेख्य परिमाणमा भित्रिएको छ ।
निर्याततर्फ प्रशोधित खाने तेलको वर्चस्व कायमै छ । अन्तरराष्ट्रिय बजारमा मूल्यको उतारचढाव र तेल आयातमा भारतले शुल्क घटाए पनि खानेतेल निकासी सूचीको अग्रस्थानमै रहन सफल भएको छ । बारा र पर्साका १ दर्जन बढी तेल उत्पादकले यो नाकाबाट निकासी गर्दै आएका छन् । तेलका अलावा जुस, कपडा, धागो, पिना, जुत्ता, दन्तमञ्जन, गलैंचा, कार्पेट, छालालगायत वस्तु पनि यो नाकाबाट निर्यात हुने मुख्य वस्तु हुन् ।
१ खर्ब ८८ अर्ब राजस्व
वीरगन्ज भन्सारले यो ११ महीनामा आयात र निर्यातबाट १ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व उठाएको बताएको छ । यो रकम निर्धारित लक्ष्यभन्दा १ दशमलव ७ प्रतिशत बढी भएको पौडेलले जानकारी दिए । अघिल्लो समीक्षा अवधिमा भन्सारले लक्ष्यको ९९ प्रतिशत राजस्व संकलन गरेको थियो । यो खबर अभियान पत्रिकाबाट साभार गरिएको हो ।
The post वीरगन्ज नाकाबाट ४३ देशसंग व्यपार, ३९ संग घाटा appeared first on Madhes Khabar.