
प्रमोद यादव
पर्सा,१६ असार : पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैया स्थित शम्सानघाट जलाउदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी छोरी १४ वर्षिया महिमा कुमारीको शव , छपकैया स्थित शम्सानघाटमा बुधबार राति जलाउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
शव , पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । गोप्य रुपमा रातिको समयमा शव जलाउने मृतक बालिकाका बुबा , दाजुभाइ र आफन्तहरु फरार रहेका छन् । प्रहरीले मृतक किशोरीकी आमा, दिदी र ठूली आमालाइ नियन्त्रणमा लिएर राखेको छ । सोधपुछका लागि तीनै जनालाइ नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।
प्रउ बस्नेतका अनुसार , विष सेवन गरि आत्महत्या गरेकी महिमा कुमारीको शव , अभिभावक र आफन्तले पोष्टमार्टम नगरि घटना लुकाउन रातिको समयमा शम्सानघाटमा लगेर जलाउन लागेको खबर छिमेकीले प्रहरीलाइ दिएका थिए ।
उक्त खबरका आधारमा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी महुवनबाट टोली शम्सानघाटमा राति नै पुगेको थियो । प्रहरीले शव आधा जलिसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । शव जलाउनेहरु भने फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरी उपरिक्षक बस्नेतले बताए । उनिहरुको खोजी भइरहेको जानकारी बस्नेतले दिए ।
प्रहरीले नियन्त्रणमा लिएका मृतक किशोरीकी आमा , दिदी र ठूली आमालाइ प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।
मृतक किशोरीका छिमेकीका अनुसार , महिमा गाँउकै एक युवकसंग प्रेम सम्बन्धमा रहेका कारण अभिभावकले उनलाइ मनसिक र शारिरिक याताना दिदै आएका थिए । त्यहि कारण महिमाले बुधबार राति विष सेवन गरि आत्महत्या गरेको र मृत्यु पछि अभिभावकले प्रहरीलाइ खबर नै नगरि शव शम्सानघाटमा लगेर जलाउन लागेका थिए ।
प्रहरी उपरिक्षक बस्नेतले भने शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने र त्यसैको आधारमा अनुसन्धान प्रकृया थप अगाडि बढाइने बताए ।
The post विश्रामपुरमा जलाउदै गरिएको किशोरीको शव प्रहरीले नियन्त्रणमा लियो appeared first on Madhes Khabar.