
माधुरी महत्तो
वीरगन्ज ,२८ असार : विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)का दुइ अध्यक्षले मङगलबार देखि छुट्टा छुट्टै बैठक गर्दैछन् ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले वीरगन्जमा केन्द्रिय कार्यकारीणी समितिको बैठक मङगलबार देखि वीरगन्जमा गर्दैछन् । उता संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पनि मङगलबार देखि नै केन्द्रीय कार्यसमितिको विस्तारित बैठक काठमाण्डौमा गर्दैछन् । दुवै बैठक दुइ दिन सम्म चल्नेछ ।
वीरगन्जमा अध्यक्ष यादवले बोलाएको बैठक मङगलबार बिहान ११ बजे देखि होटल पुजनमा शुरु हुने वन तथा वातावरणमन्त्री समेत रहेका जसपाका केन्द्रिय कार्यकारीणी सदस्य प्रदीप यादवले जानकारी दिए ।मन्त्री यादवका अनुसार बैठकमा सहभागी हुनका लागि अध्यक्ष यादव , वरिष्ठ नेता अशोक राई सहितका शीर्ष नेताहरु वीरगन्ज आइ पुगेका छन् ।
बुधबार सम्म चल्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, संसदीय बोर्ड गठन, निर्वाचन तयारी अभियान समिति गठन, केन्द्रीय समिति तथा केन्द्रीय कार्यकारिणी समिति पुनर्गठन, चुनावी तालमेल सम्बन्धमा छलफल, विधान संशोधन लगायतका एजेन्डा माथि छलफल हुने वनमन्त्री यादवले जानकारी दिए ।
मन्त्री यादवले काठमाण्डौमा संघीय परिषद अध्यक्ष भट्टराइले पनि बैठक बोलाएको हल्ला सुनिएपनि त्यसको कुनै तुक नरहेको बताए ।यादवले भने ,‘ ३३ जना केन्द्रिय कार्यकारीणी ससदस्य मध्ये एक दुइ जना बाहेक प्राय सबै जना वीरगन्जको बैठकमा सहभागी हुदैछन् त्यसैले भटटराइले बोलाएको बैठकको कुनै अर्थ छैन ।उनले भट्टराई पक्षको बैठक विधानविपरीत रहेको पनि बताए ।
उता काठमाण्डौको एक पार्टी प्यालेशमा भट्टराइले बोलाएको विस्तारित बैठकमा पार्टीमा एजेन्डासँगै नेतृत्वका आन्तरिक समस्या माथि बृहत् छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले बताए । केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाले वैकल्पिक राजनीतिक चेत बोकेको जसपाका मुद्दा उत्कृष्ट हुँदाहुँदै पनि नेतृत्वमा विवाद भएकाले फुटको संघारमा पुगेको बताए । उनले कानुनी रूपमा विभाजन नभए पनि मिल्ने सम्भावना क्षीण रहेको जनाए ।
२०७६ साल वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बीच एकता भई समाजवादी पार्टी बनेको थियो । समाजवादी पार्टी २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो । नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधानअनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले अहिले उत्कर्ष रूप लिएको हो ।
The post फुटको संघारमा पुगेको जसपाको केन्द्रिय कार्यकारीणी समितिको बैठक वीरगन्जमा बस्दै appeared first on Madhes Khabar.