मधेशखबर
असाढ ६ ,२०७९ वीरगंज
लागू औषध तस्करीमा बालक र युवाको संलग्नता डर लाग्दो देखिएको छ । चालु आर्थिक वर्षमा पर्सामा लागूऔषध तस्करी÷ढुवानीमा संलग्न भई पक्राउ परेकामध्ये १६ देखि ३५ उमेर समूहका बढी छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा लागूऔषध ढुवानी गरिरहेको अवस्थामा पक्राउ परेका २ सय १७ जनामध्ये १६ वर्षमुनिका ४ जना छन् ।
त्यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहका १ सय १४ जना छन् । २६ देखि ३५ वर्ष उमेर समूहका ५५ जना छन् । ३६ देखि ४५ वर्ष उमेर समूहका २६ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १६ जना र ६० वर्षमाथिका २ जना छन् ।
गत आर्थिक वर्षमा यो अपराधमा संलग्न कुल १ सय ८१ जना पक्राउ परेकामा १६ वर्ष मुनिका २ जना थिए । १६ देखि २५ वर्ष उमेर समूहका ८८ जना थिए । २६ देखि ३५ वर्ष उमेर समूहका ५६ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका २३ जना, ४६ देखि ६० वर्ष उमेर समूहका ११ जना र ६० वर्षमाथिका ३ जना थिए । चालु आवमा प्रहरीले दर्ता गराएको विभिन्न अपराधका गरी कुल १ हजार २७ मुद्दामध्ये १५ दशमलव ७७ प्रतिशत अर्थात् १ सय ६२ मुद्दा लागूऔषधकै छन् । गत आवमा कुल १ हजार १ सय ७३ मुद्दामध्ये ११ दशमलव ४२ प्रतिशत अर्थात् १ सय ३४ मुद्दा लागू औषधकै थिए ।
चालु आवको हालसम्ममा पर्साका विभिन्न स्थानबाट प्रहरीले ६ सय ४१ किलो गाँजा, २३ किलो चरेस, ४६ ग्राम हेरोइन, ९ दशमलव ५८० किलो अफिम, ४ हजार ७ सय १२ गोटा फेनारगन, ३ हजार ५ सय ६० गोटा डाइजिल्याब, ३ हजार ५ सय ७८ गोटा नुर्फिन, १२ हजार २ सय ९५ गोटा नाइट्राभ्याट र १ हजार ८३ बोतल कोरेक्स बरामद गरेको छ ।
गत आर्थिक वर्षभरिमा प्रहरीले ७ सय ८६ किलो गाँजा, १ सय ५३ किलो चरेस, ६९ ग्राम हेरोइन, ८ किलो अफिम, ६ हजार ४ सय ४४ गोटा फेनारगन, ७ हजार २ सय ५३ गोटा डाइजिल्याब, ७ हजार २ सय ३२ गोटा नुर्फिन, ८ हजार ८ सय ४१ गोटा नाइट्राभ्याट र २ हजार ४९ बोतल कोरेक्स बरामद गरेको थियो । लागूऔषध ढुवानी तथा तस्करीका लागि वीरगन्ज तथा यसको छेउछाउको ग्रामीण भेगका नाका मुलुककै मुख्य मानिन्छ । मुलुकको सर्वाधिक आयात–निर्यात हुने नाका लागू औषध ढुवानीको परम्परागत ट्रान्जिटका रूपमा बदनाम छ ।
भारतमा प्रतिबन्धित नभएका तर नेपालमा प्रतिबन्धित नुरफिन, फेनारगन, डाइजेपामजस्ता औषधि बोकेर आउने प्रायःजसो वीरगन्ज तथा छेउछाउका नाकाबाट पक्राउ परिरहेका छन् । सुरक्षाकर्मीको आँखा छलेर लागूऔषध ढुवानी गर्नेको संख्या पक्राउ परेका भन्दा बढी छ । प्रतिबन्धित यी औषधि नेपालमा नियन्त्रित लागूऔषध भनिन्छ । यस्ता औषधिको ढुवानीकर्ताहरू प्रायः केही अवधिको जेल सजाय काट्छन् तैपनि निरुत्साहित हुँदैनन् । कारोबारीहरूले यो नाकाबाट भित्र्याउने लागूऔषध विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पनि पु¥याउँछन् ।
भारतसँगको खुला सीमाको कारण दैनिक वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुर्व्यसनी धेरै छन् । यसरी भारतमै लागूऔषध सेवन गरेर फर्कनेहरूले पनि थोरबहुत लागूऔषध बोकेर ल्याउँछन् । कतिपयले यसरी ल्याउने लागूऔषध बिक्री समेत गर्छन् ।
पक्राउ पर्ने अधिकांशमा पर्साभन्दा बाहिरी जिल्लाका छन् । नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधि सीमावर्ती भारतीय सहर रक्सौलका औषधि पसलमा खुलेआम बिक्री हुन्छन् । लागूऔषध ढुवानी गर्नेमा पुरुष मात्र नभई महिला पनि छन् । वीरगन्ज कारागारका झन्डै आधा कैदीबन्दी लागूऔषध मुद्दामा सजाय पाएका वा पुर्पक्षमा रहेका मात्र छन् । सामाजिक अभियन्ता प्रकाश थारू बालक र युवाको लागूऔषध सेवन तथा तस्करीमा बढ्दो संलग्नता चिन्ताको बिषय भएको बताउँछन् ।
साभार : कान्तिपुर
The post लागूऔषध तस्करीमा किशोरको प्रयोग बढ्दो appeared first on Madhes Khabar.