
मधेसखबर
वीरगन्ज, २०जेठ : वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य चुन्नका लागि शुक्रबार मतदान भइरहेको छ ।
महानगरपालिकाको कार्यापालिकाका ८ सदस्य चयनका लागि जिल्ला समन्वय समिति परिसरमा मतदान जारी छ । बिहान १० बजे देखि शुरु मतदान दिउँसो २ बजे सम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्य गरि कुल ८ सदस्य पदका लागि भइरहेको निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य गरि कुल १ सय ६२ मतदाता रहेका छन् ।
कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली काँग्रेसले गठबन्धन गरेका छन् । उता नेकपा एमालेले र लोसपाले पनि छुटटै गठबन्धन गरेर उम्मेदवारी दिएका छन् । ८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
५ महिला सदस्यका लागि काँग्रेस जसपाको गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक ,नितु कुमारी राय र राधादेवी कार्की तथा जसपाबाट कलावती देवी राजपुतिन र रबुलसनन खातुनको उम्मेदवारी परेको छ । यस्तै एमाले लोपाको गठबन्धनबाट एमोलेकी अमरी देवी चमार ,कान्ति देवी ,मन्जु देवी र संगीता देवी तथा लोसपाबाट पतिया देवीले उम्मे्दवारी दिएका छन् ।

दलित वा अल्पसंख्यक तर्फ ३ सदस्य पदका लागि काँग्रेस जसपाको गठबन्धनबाट काँग्रेसका कन्हैया प्रसाद तथा जसपाका खैरुद्धिन मिया धोबी र निरन्जन प्रसाद सोनारको उम्मे्दवारी परेको छ । यस्तै एमाले लोसपा गठबन्धनबाट एमालेका अजय कुमार गुप्ता ,ओम प्रकाश साह र राजकिशोर गुप्ताले उम्मेदवारी दिएका छन् ।
बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा मेयर जसपाले , उपमेयर काँग्रेसले , १३ वटा वडा वडा अध्यक्ष जसपाले , ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले , ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको थियो ।

The post वीरगन्ज महानगरको कार्यपालिका सदस्यका लागि मतदान जारी appeared first on Madhes Khabar.