कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण देशवासीमा अपिल गर्नुभएको छ ।
आज कैलालीको धनगढीमा सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरूसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्न देशवासीमा अपिल गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था लगायत सबै व्यवस्थापन चुस्त दुरुस्त बनाएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले स्थानीय तह देखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्याउन सबैमा आग्रह पनि गर्नुभयो ।
यसैगरी भिडियो सन्देश दिनुहुँदै सभामुख अग्नि प्रसाद सापकोटाले मतदान गर्दा कसैको डर, धाक, धम्की र लोभमा नपर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि सन्देश दिनुहुँदै मतदान गर्दा कसैको धाक, धम्की, लोभ र भनसुनमा नपरी आफ्नो विवेकको प्रयोग गर्न सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।